SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/३/२८ गते
    ७०७ पटक

    समाजसेवा पछिल्लो समयमा मान्छेको कमाई खाने भाँडोको रूपमा रुपान्तरण हुन थालेको देखिँँदै छ । सेवाको नाममा ‘मेवा’ खाने तथा एउटा विशेष वर्ग/समुदायलाई देखाएर आफ्नै स्वार्थ सिद्ध गर्न पल्केका कथित समासेवीको उपस्थिति पनि हाम्रासामु निकै देखिन थालेका छन् । यस्ता नक्कली समाजसेवीहरूको बिगबिगी बढेको बेला गोरखाकी एक युवा महिला त्यस्ता कथित समाजसेवीका निम्ति चुनौती बनेर अगाडी बढिरहेकी छन् । समाजसेवा गर्न उमेर र प्रशस्त धनदौलत होइन भित्री आत्मा सफा हुनुपर्ने र त्यसो भएपछि आफ्नो उद्देश्यमा सफल भइन्छ भन्ने दृढ इच्छा राख्ने यी समाजसेवी महिलाको नाम रेखा तामाङ (लोप्चन) हो । २०४४ सालमा गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. ११ मा जन्मिएकी रेखा समाजसेवामा त संलग्न छँदैछिन्, एक सफल व्यवसायीको पहिचान पनि उनले बनाएकी छिन् । कसैको कष्ट देख्दा आफ्नै मुटुमा सियो रोपिएको महसुस गर्ने रेखा त्यतिबेला द्रविभूत भइन् जब गोरखा जिल्लाको गोरखागण्डकी गाउँपालिका वडा नं. ३ फुजेलाका एकै परिवारका सबै सदस्य अपाङ्ग बनेर दुःख भोगेका देखिए । गरिवीमाथि अपाङ्गताको प्रहार देख्दा त्यसबेला आफ्नो आँखा निकै रसाएको उनी स्मरण गर्छिन् ।

    विकलाङ्गी परिवारको अत्यन्त कठिन जीवन बिताएको देखेपछि रेखाले उक्त भुजेल परिवारको वैशाखी बन्ने प्रण गरिन् र शुरु गरिन् अपाङ्गमैत्री आवास निर्माण कार्य । शुरुका दिनमा दुई–तीन लाखसम्ममा भ्याउने भए आफैँ भवन बनाइदिने भनेर लागेकी रेखा पछि रकम नपुग्ने देखेपछि सामाजिक संजालमार्फत सहयोगको निम्ति हात फैलाएर रकम जम्मा गर्न थालेको बताउँछिन् । निःस्वार्थ अपाङ्गलाई आवासमा राख्ने सपना बोकेर अघि बढेकी उनलाई अवरोध गर्ने चेष्टा पनि गरियो । भुजेल परिवारको खुशीको लागि आफू जेल जान पनि तयार रहेको अभिव्यक्ति दिएकी रेखालाई गोरखाका तत्कालीन प्रमुख जिल्ला अधिकारीको साथ र समर्थन रहेको थियो । रेखा कहिलेकाहीँ भुजेल परिवारसँग आफैले घरबाट बनाएर लगेको खाना खान्छिन्, त्यतिबेला उनलाई निकै रमाइलो लाग्छ । भुजेल परिवारको बास तयार गर्नका लागि अझै केही रकम अपुग भएकोले उनी दानवीरहरूसंग सहयोगको हात थापिरहेकी छन् । श्रयन क्लिनर केमिकल हाउसकी प्रबन्ध निर्देशक रहेकी रेखा राजनीतिमा पनि त्यतिकै सक्रिय छिन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीकी सदस्य रहेकी उनी एमालेको भातृ संगठन यूवा संघको केन्द्रीय अनुशासन आयोगको सदस्य पनि हुन् । समाजसेवालाई राजनीति भन्दा अलग राख्नुपर्ने बताउने रेखासँग रिपोर्ट नेपालका कार्यकारी सम्पादक महेन्द्र पाण्डेयले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

    ० रेखाजी तपाईंले गोरखाको भूजेल परिवारलाई कहिले खाना लिएर जाने त कहिले आर्थिक सहयोग गर्ने गर्नुभएको छ ? यो उमेरमा समाजसेवा गर्ने प्रेरणा कसरी जाग्यो ?
    – म पनि यही समाजको गरिबी र पीडा भोगेको एक व्यक्ति हुँ । यसर्थ आफ्नो अघिल्तिर गरीब तथा दीनदुःखीले पीडा भोगेको सहन सक्दिनँ । आजसम्म मैले सकेको सहयोग गर्दैआएकी छु । खासमा भन्दा मैले मेरो ममीबाट नै यो प्रेरणा हासिल गरेकी हुँ । ममी पनि समाजसेवाको क्षेत्रमा लामो समयदेखि सक्रिय हुनुहुन्छ ।

    ० गोरखाको भुजेल परिवारका लागि आर्थिक सहयोग जुटाउन सक्रिय भएर लाग्नुभएको छ, यस अभियानमा कत्तिको सहयोग पाइरहनुभएको छ ?
    – मैले उहाँहरूको सहयोगका लागि आर्थिक सहयोग संकलन अभियान चलाएकी थिएँ । त्यसमा धेरै सहयोगी मनहरूले सहयोग गर्नुभएको छ । मैले दुई–चार लाख सहयोग जुट्यो भने आफ्नो तर्फबाट दुई–चार लाख थप गरी उहाँहरूलाई सहयोग गर्छु भन्ने सोचेकी थिएँ । तर, बाहिरबाट सहयोगी मनहरूले मैले सोचेभन्दा राम्रो सहयोग जुटाइरहनुभएको छ । मैले सामाजिक सञ्जालमार्फत चलाएको यो अभियानमा धेरैको साथ–सहयोग रहेको छ । राष्ट्रिय वाणिज्य बैंकमा भुजेल परिवारको सामुहिक खाता खोलेर त्यहीँ जम्मा गरिदिन मैले आग्रह गरेकी थिएँ । सहयोगस्वरुप प्राप्त नगदलाई गोर्खाका तत्कालिन सिडिओ जितेन्द्र बस्नेतमार्फत बैंक खातामा जम्मा गराइएपछि झन् विश्वास बढ्यो र हालसम्म करिब ८ लाखभन्दा बढी रकम उठिसकेको छ ।

    ० भुजेल परिवारका लागि तपाईं किन त्यसरी लागिरहनुभएको छ ?
    – भूजेल परिवारका सबै सदस्यहरू अशक्त र अपाङ्ग हुनुहुन्छ । जसमा चार जना अपाङ्ग हुनुहुन्छ । ३५ वर्षकी देवीमाया भुजेल, वर्ष ४५ का चङ्ख भूजेल, रामबहादुर भुजेल ५५ वर्षको र उहाँहरूको बुबा ९२ वर्षको हुनुहुन्थ्यो । केही दिनअघि उहाँको निधन भयो । उहाँहरू सबै जना अपाङ्ग हुनुहुन्छ ।

    ० देशभरी यस्ता भूजेल परिवार त सयौं छन्, तपाईंको आँखा भुजेल परिवारमै जानुको कारण के होला ?
    – म गोर्खावासी भएको कारण आफ्नै नजिकै कुनै परिवारले यस्तो अकल्पनीय पीडा भोगीरहनु परेको सहन नसकेर पनि म यस परिवारको सेवामा लागेकी हुँ । देशभर हेर्ने हो भने उहाँहरूभन्दा पनि दुःख पाउने कैयन हुुनुहोला । मैले चाहिँ एकाघरकै सबै यस्तो अशक्त र अपाङ्ग अन्यत्र देखेको थिइनँ । उहाँहरूको अवस्था कस्तो भने रुखको मुन्टा टिपेर खानुपर्ने, घिस्रेर हिँड्नुपर्ने, भूकम्पले चर्किएको घरमा पुष–माघको जाडोमा लुगा नभएर बस्नुपर्ने, उहाँहरूको घरको वरिपरि सर्पहरू डुलिरहेको हुन्थ्यो । राती त्यो पुषको जाडोमा शीत तपतप चुहिरहेको अवस्थामा पिँढीमै सुतिरहेको दृश्य देखेँ । त्यसले मन सा¥है पोल्यो र उहाँहरूको लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले नै म लागिरहेकी छु ।

    ० उहाँहरू वर्षौंदेखि यस्तो पीडा भोगिरहनु भएको रहेछ, गाउँ–समाज तथा राज्यको आँखा नपरेको रहेछ कि परेर पनि उपेक्षाको शिकार भएका रहेछन् ?
    – उहाँहरू छरछिमेकसँग त्यति घुलमिल नभएको, गाउँबाट अलि टाढा बस्ने, छिमेकीहरूले कहिलेकाहीँ आएर खेतीपाती गरिदिने, कहिलेकाहीँ छिमेकमा मिठो–मसिनो पाक्दा दिने गर्दा रहेछन् । उहाँहरूको घरमा भात नपाकेको नौ वर्ष भइसकेको रहेछ । राज्यले पनि केही गरेको रहेनछ । छिमेकीहरू तथा गाउँसमाजले गर्ने भनेकै त्यही सहयोग हो, जो उहाँहरूले गरिरहनु भएको थियो ।

    अहिले समाजसेवाको नाममा निकै ठगी पनि भइरहेका छन्, कि त आफू हाइलाइट हुनका लागि कि त स्वार्थको ‘मेवा’ खानका लागि समाजसेवामा लागिरहेका देखिन्छन् नि, के भन्नुहुन्छ ?
    – अरुको विषयमा मलाई केही टीका–टिप्पणी गर्नु छैन । म आफूचाहिँ नाम कमाउन या राजनीतिक विषय बनाउनका लागि यो सहयोग या सेवामा उत्रिएको होइन । त्यस्तो चाहिएको पनि छैन । सेवा नै धर्म हो भन्ने धारणा छ मेरो । मैले आजसम्म गरेका कामका लागि मिडिया धाउनु परेको पनि छैन । मेरो कामले गर्दाखेरि कहिलेकाहीँ मिडियाका साथीहरू खोज्दै आउनुहुन्छ । मेरो पेसा तथा लगाव नै समाजसेवा भएकोले म यसैमा खुशी छु । समाजमा त्यस्ता केही एकाध व्यक्तिहरूको कारणले समाजसेवा गर्ने सबैमा त्यो प्रश्न उठ्ने गरेको छ । तर, म त्यसबाट बिल्कुल अलग छु । राम्रो काम गर्दा पनि शंका गर्ने त यहाँको चलन नै हो । तर, मेरो हकमा त्यो लागू हुँदैन । विशुद्ध समाजसेवामा लागेकी छु र लागिरहेकी छु ।

    ० भूजेलका लागि तपाईंको पहलमा जुटेको सहयोगबाट के–कति काम भएका छन् ?
    – अहिलेसम्म उहाँहरूले कुनै सरकारी सेवा पाउनु भएको छैन । मैले उहाँहरूका लागि सामाजिक सुरक्षा भत्ता दिलाउने काम भइरहेको छ । यो ६ लाख पैसाले हामीले उहाँहरूको लागि अपाङ्गमैत्री आवास बनायौँ । उहाँको रोहबरमा चेक काटेर अलिअलि गर्दै सामान किन्दै घर बनाएका छौँ । उहाँहरूलाई अझै केही दुई/चार लाख संकलन गरेर उहाँहरूको नामबाट अक्षय कोष बनाउने सोचमा छु । जसले गर्दा उहाँहरूलाई त्यही पैसाबाट दैनिक छाक टार्न सजिलो होस् ।

    ० यो अभियानमा तपाईं एक्लै हुुनुहुन्छ कि साथ दिने अरु पनि छन् ?
    – सहयोगी मनहरू धेरै छन् तर अभियानका लागि पहल गर्नेदेखि सारा कुरा हेर्ने म एक्लै छु । अभियान सफल बनाएर एउटा अपाङ्ग परिवारलाई खुशी दिलाउने सहयोगी मनहरू मसँग थुप्रै छन् ।

    ० यो अभियान कसरी शुरु गर्नुभएको थियो ?
    – मैले यो अभियान सामाजिक सञ्जालबाट शुरु गरेकी हुँ । गोर्खामा लामो समयदेखि भिजेकी हुँदा प्रायः सबैले चिन्ने भएकोले मलाई केही सहज पनि भयो । मैले सामाजिक सञ्जाल फेसबुकमा एउटा उहाँहरूको भोगाईलाई पस्किसकेपछि त्यो विश्वभरका नेपाली तथा विदेशीले हेरे र सहयोग जुटाउन सहज भएको हो ।

    ० तपाईं यसरी सामाजिक सेवामा लागिरहँदा खुट्टा तान्ने कत्तिको छन् नि ?
    – काम गर्दै जाँदा खुट्टा तान्नेहरू धेरै छन् । मैले उक्त पैसा हस्तान्तरण गर्दा भूजेल समाजको केन्द्रले आफूलाई जानकारी गराउनु भनेको थियो । पछि बुझ्दै जाँदा उहाँहरूको त्यो काम पुरा नगरी आधा पैसा अक्षय कोषमा राख्ने र काम टार्नको लागि घर बनाएजस्तो गर्ने योजना रहेछ । मैले शतप्रतिशत काम हुनुपर्छ भनेर त्यो पैसा अनियमितताको शिकार हुन दिइनँ । मलाई धेरै ठाउँबाट धम्की पनि आयो । धेरैले तैँले यो अभियान के आधारमा चलाउने भन्दै प्रश्नसमेत गरेका थिए । मलाई सिडिओले म सहयोग गर्छु तपाइँ अघि बढ्नुहोस् भनेपछि मलाई काम गर्न सहज भयो । अपाङ्ग र असहाय व्यक्तिको सेवा गर्दा गैरकानुनी ठहरिन्छ भने म सजाय भोग्न तयार छु भनेर लागेँ र सफल भएको छु ।

    ० तपाईं यो अभियानका लागिरहँदा कठिनाइ पनि आयो होला नि ?
    – कठिनाइ त धेरै भयो । अहिले पनि त्यहाँ जान सामान ल्याउन लैजान हिँडेर जानुपर्थ्यो । तीन घण्टा त जान र आउन मात्रै लाग्थ्यो । घर बनाउँदा साह्रै कठिन संघर्ष गर्नुपऱ्यो । अनि समाजसेवा भनेको यस्तो पेसा हो, जसमा कठिनाइहरू धेरै हुन्छन्, सामना गर्दै अघि बढ्नुपर्छ भन्ने लागेर मन बुझाएँ ।

    ० अन्त्यमा केही भन्नु छ ?
    – मेरो कुरा आम जनतामाझ पुऱ्याउन सहयोग गर्ने रिपोर्ट नेपाललाई विशेष धन्यवाद । अहिले पनि अभियान जारी छ । यो अभियानमा मलाई सहयोग गर्नुभन्दा पनि एक असाह्य भूजेल परिवारलाई सहयोग गरिदिनुहोस् भन्ने आग्रह गर्दछु । भूजेल परिवारले एक नयाँ जीवन पाउँदै छ । यो भोलिका दिनमा हामीलाई पनि पर्न सक्छ । सबभन्दा ठुलो धर्म भनेको गरीब दीनदुःखीको सहयोग गर्नु हो । त्यसकारण केही विलासी कार्यको खर्च कटाएर सहयोग गरौँ ।सेवा नै धर्म भन्ने मनन गरेर सहयोग गरौँ भन्ने सन्देश सबैमा बाँड्न चाहन्छु ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भवानी ग्रुपको उद्घाटन गर्दै निर्माण व्यवसायी अध्यक्ष सिंहले भने- सरकारले पूर्वाधारमैत्री ऐन ल्याओस्

    काठमाडाैं । निर्माण ब्यबसायी महासंघका अध्यक्ष रबि सिंहले युवा उद्यमीलाई प्राेत्साहित गर्न पुर्वाधार मैत्री वातावरण...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं